सिमकोट : ‘थोरै खाऔँ, सही मात्रामा खाऔँ, दुई बालबालिका चिह्न अङ्कित आयोडिनयुक्त नुन नै खाऔँ’ भन्ने नाराका साथ हुम्लाको ताँजकोटमा रहेका दुई सय जनालाई आयोडिनयुक्त नुन निःशुल्क वितरण गरिएको छ । गर्भवती, सुत्केरी, किशोरावस्था र अन्य उमेर समूहका नागरिकलाई आयोडिन नुन गाउँपालिकाले वितरण गरेको गाउँपालिका स्वास्थ्य संयोजक धनराज ढकालले बताए ।
सरकारले उचित मात्रामा आयोडिन भएको नुन उपभोग गर्ने घर सङ्ख्या शत्प्रतिशतमा पुर्याउने नीति लिएका कारण प्रत्येक वडाका दुई सय घरधुरीलाई एक–एक प्याकेटका दरले नुन सहयोग गरेर आयोडिनयुक्त नुन प्रयोगका बारेमा जनचेतना फैलाइएको संयोजक ढकालले बताए । आयोडिनको कमीबाट उत्पन्न हुने विभिन्न शारीरिक एवं मानसिक कमजोरीका विषयमा जनचेतनामूलक कार्यक्रमबाट जानकारी गराइएको छ ।
गाउँपालिका प्राङ्गणमा यहाँका सबै स्थानीयलाई उपस्थित गराएर आयोडिनयुक्त नुनको उचित मात्राको प्रयोगका बारेमा सचेत गराइएको हो । पाँच वर्षमुनिका बालबालिका, गर्भवती, सुत्केरीका साथै अन्य उमेर समूहका नागरिकलाई अभियानमा सहभागि गराइएको छ ।






